अब लघुवित्तको संख्या तिब्र रुपमा कटौती हुने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्त वित्तीय संस्थालाई लाइसेन्स वितरणमा रोक लगाएसँगै लघुवित्तको संख्या घट्ने भएको हो । हाल धेरै लघुवित्तहरु मर्जरको तयारीमा छन् । कोरोना कहरका कारण पनि कतिपय लघुवित्तलाई मर्जरको बाध्यता सिर्जना गरेको छ । नयाँ लघुवित्त खुल्ने क्रमसँगसँगै लघुवित्तहरु मर्जरमा जाने क्रम पनि तीव्र रुपमा अघि बढिरहेको हो । राष्ट्र बैंकले यस अघि मौद्रिक नीतिमार्फत मर्जरमा जाने लघुवित्तलाई विभिन्न सुविधा दिने घोषणा गरेको थियो । अधिकांश लघुवित्तहरु मर्जरमा जादैछन् । केही प्रक्रियामा छन् भने केही पार्टनरको खोजीमा छन् । यस अघिनै नेपाल राष्ट्र बैंकले लघुवित्तको संख्या दुइ दर्जनमा झार्ने रणनीति बनाएको थियो । करिव ९० वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेकोमा केही लघुवित्तहरु मर्जरमा गभइसकेका छन् । अरु कैंयौ मर्जरको दौडानमा रहेका छन् ।

मर्जरमा तिब्रता
किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त र दिव्य लघुवित्त मर्जर भई एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ । २० करोड ९२ लाख रुपैंया चुक्ता पूँजी भएको एनआरएन लघुवित्त, १० करोड ६६ लाख रुपैंया पूँजी भएको किसान र ७ करोड ७० लाख रुपैंया पूँजी भएको दिव्य लघुवित्त एक आपसमा मर्जरमा गएका हुन् । तीन वटै लघुवित्तले बराबर अनुपातमा मर्जरको स्वीकृति लिएका थिए । नयाँ लघुवित्तको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड पुगेको छ । नयाँ संस्थामा प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह रहेका छन् । यसअघि एनआरएनले रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई मर्ज गरेको थियो । धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त पनि मर्जर प्रक्रियामा छन् ।

उन्नति माइक्रोफाइनान्स र सहकार्य माइक्रोफाइनान्सको मर्जर पछि उन्नती सहकार्य लघुवित्तको नामबाट संयुक्त कारोबार भइसकेको छ ।यस्तै आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । हालै बनेपामा एक औपचारिक कार्यक्रम गर्दै एकीकृत कारोबार सुरु गरिएको हो । उनीहरुले आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । उक्त दुई लघुवित्त बीच २०७६ जेठ २२ गते नै मर्जर सहमति भएको थियो । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त बीच पनि मर्जर सम्झौता भएको छ । स्वरोजगार लघुवित्तले जनकपूर लघुवित्तलाई गाभ्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा सम्झौता भएको छ । दाङको महिला सामुदायिक लघुवित्त र पोखराको जाल्पा लघुवित्तले पनि मर्जर सम्झौता गरेका छन् । मर्जरपछि बुटवलमा केन्द्रीय कार्यालय राखी राष्ट्रिय स्तरको कारोबार गर्ने लघुवित्तको योजना छ । सूर्यादय लघुवित्त र त्रिलोक लघुवित्त मर्जर प्रकृयामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *