तेजेन्द्र शर्मा लम्साल
लघुवित्त शब्द लघु र वित्त दुई शब्दको समासबाट बनेको हो । नेपाली बृहत शब्दकोष अनुसार लघु भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने उद्योग, सानोखाले व्यवसाय भनिएको छ भने वित्तलाई धनमाल, जायजेथा, सम्पत्ति, अर्थ, ऐश्वर्य भनि परिभाषित गरिएकोछ । लघुवित्त भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने उद्योग तथा व्यवसाय गर्न प्रयोग हुने रकम हो भन्ने बुझ्न सकिन्छ । सामान्यतया लघुवित्त आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्गको लागि प्रदान गरिने वित्तीय सेवा हो ।

लघुवित्तलाई अथ्र्याउने क्रममा
कर्जा तथा वचतको आकार, सेवाग्राहीको वर्ग तथा लिङ्ग, अन्य सामुदायिक कार्य, कर्जा सदुपयोगिता, गरिवी निवारणको साधन आदिको आधार लिन सकिन्छ ।लघुवित्त भनेको सानो कर्जा, सानो वचत, सानो विमा र सानो राहत सहितको वित्तीय सेवा हो । लघुवित्तका लक्षित वर्गमा आर्थिक तथा सामाजिक रुपमा पछि परेको विपन्न परिवार पर्दछन् र वित्तीय कारोवार भने उक्त परिवारको महिला मार्फत गरिएको हुन्छ । लघुवित्त अन्तर्गत पैसाको कारोवार मात्रै नभै कारोवार सँगै विभिन्न सामूदायिक कार्यहरु समेत पर्दछन् । लघुवित्तले आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्गलाई आवश्यक तालिम तथा सामूदायिक कार्य सहित आयआर्जनको लागि कर्जा प्रदान गर्ने भएकोले यसलाई गरीवि निवारणको महत्वपूर्ण साधन मानेर विश्व समूदायले लघुवित्तका प्रवर्धक ग्रामीण बैंक बंगलादेशका अर्थशास्त्री प्रो. डा.मोहम्मद इनुसलाई नोवल पुरस्कारले सन् २००६ मा सम्मान गरिसकेको छ ।

नेपालकाबौद्धिक वर्गका व्यक्तिहरुको लघुवित्त बारेकोे बुझाइ र लघुवित्त कर्मीको लघुवित्त बारेको बुझाइ फरक नहोस् भन्ने आसयले लघुवित्तको अर्थलाई थप स्पष्ट पार्न देहाय बमोजिमका केहि विशेषताहरुबाट पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ :

(१)लघुवित्तमा सानो आकारमा कारोवार हुन्छ । लघुवित्त संस्थाहरुले सानो कर्जा, सानो बचत, सानो विमा र सानो राहतका कार्यक्रम सहितको वित्तीय कारोवार गर्छन् । लघुवित्त संस्थाले एक रुपैयाँसम्म पनि वचत संकलन गरेको पाइन्छ । अहिले पनि पाँचहजारसम्मको कर्जा प्रवाह गरेको पाइन्छ । लघुवित्तले आर्थिक कृयाकलापको दायरा वाहिरका अति विपन्न परिवारमा कर्जाको परिचालन गर्ने तरिका सिकाउदै शुरुमा सानो कर्जा दिएर क्रमशः कर्जाको आकार बढाउदै लगेको पाइन्छ ।

(२) लघुवित्तले आर्थिक कारोवारको लागि अति विपन्नवर्गलाई प्राथमिकता दिन्छ । लघुवित्तको अवधारणको जन्म नै गरिवी न्यूनिकरणको लागि भएको हो । भनिन्छ, प्रोफ्सर इनुस घरबाट विश्वविद्यालय जानेआउने क्रममा अति विपन्न महिलालाई देखेर आफ्नो गोजिको २७ डलर बरावरको टाँका (वंगालादेशी रकम) उनले ती महिलाहरुलाई दिएका थिए । उक्त रकमबाट आयआर्जन गर्नुपर्ने र आयआर्जन भएमा यो रकम कर्जा मानेर फिर्ता गर्नुपर्ने, यदि सोचेजस्तो आयआर्जन नभएमा फिर्ता गर्न पर्दैन भन्दै इनुसले त्यो पैसा केहि महिलाहरुको एउटा समूहलाई दिएका थिए । केहि महिना पछि ति महिलाहरुले इनुसलाई पैसा फिर्ता गर्नको लागि उनी हिड्ने बाटोमा पर्खेर बसेका थिए । यसरी इनुस र ती महिलाहरु विचको कारोवारले वंगलादेशमा ग्रामीण बैंकको जन्म भयो । दुनियाँमा लघुवित्तको ग्रामीण मोडेलको लघुवित्तको जन्म भयो । नेपालले हाल प्रयोग गरेको लघुवित्तको यो आदर्श पक्ष हो ।

खोलाको किनारमा बाँसको मान्द्रोले बेरेर घर बनाएको अति विपन्न परिवारलाई हामीले नै बेल्चा, घन, गैची, वालुवा चाल्ने जाली किन्न अनि वालुवा संकलनकोे लागि पर्खाल बनाउन लघुवित्त कर्जा दियौं । यस प्रकारका विपन्नहरुलाई कसैले आर्थिक सहयोग गर्न त सक्ला । तर लघुवित्त संस्था वाहेक कसैले ऋण दिन सक्दैनन् । केहि वर्ष पछि त्यो विपन्न परिवारले वालुवा बोक्ने ट्रक खरिद ग¥यो । लघुवित्त कर्महरुसँग यस्ता सयौं उदाहरण छन् । अनि गरिवहरु इमान्दार हुन्छन् भन्ने कुरा पनि लघुवित्त कर्मीहरुले प्रमाणित गरिकेका छन् ।

(३)लघुवित्तले विना धितो कर्जा प्रवाह गर्छन् । कुनै अति विपन्न परिवारलाई आर्थिक कृयाकलापको सञ्जालमा ल्याउनको लागि लघुवित्त संस्था वाहेक कसैले ऋण दिन सक्दैनन् । यसको कारण गरिवसँग ऋण लिन आवश्यक पर्र्नेे धितो सम्पत्ति नै हुदैन । अति विपन्न वर्गसँग कर्जाको लागि धितोमा राख्ने सुनचाँदी, घरजग्गा तथा अन्य सम्पत्ति केहि हुदैन । लघुवित्त संस्थाले अति विपन्न परिवारमा कर्जा प्रवाह गर्दछन् ।त्यसैले लघुवित्त संस्थाले समान आर्थिक अवस्था भएका र एउटै बस्तीका महिलाहरुको समूहप्रवेश पूर्वतालिम सञ्चालन गरेर समूह निर्माण गर्छन् । त्यहि समूहको जिम्मेवारीमा उनीहरुको आवश्यकता अनुसार विनाधितो कर्जा प्रवाह गर्दछन् ।

(४) लघुकर्जाले ऋणीलाई फाइदा भएको हुनै पर्छ ।केहि महिलाहरुको समूह बनाएर वचत तथा कर्जाको कारोवार गर्देमा त्यसलाई लघुवित्त भन्न मिल्दैन । यदि त्यस कारोवारबाट ती महिलाहरुको जीवनस्तरमा सुधार हुदै गएको भएमा मात्रै त्यो कारोवार लघुवित्त सेवा अन्तर्गत पर्दछ । उनीहरुको जीवनस्तरमा सुधार हुनको लागि उनीहरुलाई आवश्यक कर्जा मात्रै प्रदान गर्नुपर्छ । उनीहरुले के कस्तो आय आर्जनको काम गर्न खोजेका हुन् ? त्यस कार्यमा लाग्ने लगानी रकम कति हो ? परियोजनाबाट आय आर्जनको सम्भावना कतिको देखिन्छ ? कतै कर्जा माग गर्न खोजेको मान्छेले जसरी हुन्छ पैसा हात पार्ने र आय आर्जन नगर्ने त होइन ? अनि कर्जाको किस्ता तिर्ने वैकल्पिक आधारहरु के के छन् ? उनको पारिवारिक पृष्ठभूमी कस्तो छ ? त्यो परियोजना देखाएर उनले अरु श्रोतबाट कति कर्जा लिइ सकेका छन् ?के यिनले कर्जा रकमको राम्रो सदुपयोग गर्छन् त ?यी र यस्तै अरु प्रश्नहरुको जवाफ पाइकन गरिने कर्जा प्रवाहले ऋणीको आर्थिक अवस्था झन् मजबुत हुँदै जान्छ ।
लघुवित्त संस्था र ऋणी विचको सम्वन्ध क्रमशः सुमधुर हुँदै जान्छ । ऋणीले ठूलो कर्जा परिचालन गर्न सक्छ । यसले लघुवित्त संस्था र ऋणी दुवैलाई फाइदै फाइदा हुन्छ । अनि दुवै पक्षको भविश्य सुनिश्ति हुन्छ । भाखा नाग्ने अवस्था नआउने भएकोले फिल्ड कर्मचारीलाई पनि काम गर्न सजिलो र रमाइलो हुन्छ ।

(५) लघुवित्तको कारोवार घरदैलोमा गरिनुपर्छ ।नेपालमा अझै पनि पूर्वाधारको विकास नभै सकेका बस्तीहरु धेरै छन् ।अधिकांश लघुवित्त संस्थाका कर्मचारीहरु दैनिक ५–६ घण्टासम्म पैदल हिडेर दुरदराजका बस्तीहरुका टोल टोलमा लघुवित्त सेवा प्रदान गरिरहेका छन् । लघुवित्तका कर्मचारीहरुले त्यहाँ पहिलो दिन गोष्ठि तथा भेला गर्छन् । भेलाको सहमति लिएर ५–७ दिन लघुवित्तको आधारभूत विषय समावेश गरिएको समूहप्रवेश पूर्वतालिम सञ्चालन गर्छन् । हरेकमहिनाको तोकिएको दिन लघुवित्त सेवा प्रदान गर्नको लागि झोलामा पैसा बोकेर ती दुरदराजका बस्तीहरुमा वित्तीय कारोवार गरिन्छ । व्यवसायिक तालिमहरु त्था सचेतनामूलक गोष्ठि तथा सेमिनारहरु आयोजना हुन्छन् ।
केहि बैंक तथा वित्तीय संस्थाहरु जसले आफूलाई लघुवित्त संस्थाको काम पनि गर्छाै भन्छन् । तर उनीहरुको कारोवारमा घरदैलो सेवा देख्न सकिन्न । उनीहरुले न त स्थानीय टोलमा गएर समूहप्रवेश पूर्वतालिम नै सञ्चालन गर्छन् । बरु अरु लघुवित्त संस्थाले समूहप्रवेश पूर्वतालिम नै सञ्चालन गरेर बनाएको समूहका केहि ब्यापारीहरुलाई कार्यालयमा नै बोलाएर कार्यालयमा नै समूह बनाएको पाइन्छ । ती संस्थाहरुले कार्यालयमा नै बोलाएरकर्जा दिन्छन् । अनि त्यसको साँवाब्याज तिर्न पनि कार्यालयमा नै बोलाउछन् । यसरी समूह गठन, कर्जा प्रवाह अनि असुलीको काम सवै कार्यालयबाट गर्ने हो भने लघुवित्त सेवा भौतिक पुर्वाधार नपुगेका दुर्गम बस्तीहरुमा पुग्न सक्दैन । अनि बजारमा दोहोपनाको मारमा ऋणीहरु छटपटाउन पर्ने अवस्था आउन सक्छ ।

(६) लघुकर्जाको ब्याजदर बढि हुन्छ । लघुवित्तको कारोवार घरदैलोका टोलहरुमा पुगेर प्रदान गरिने भएकोले नचाहदा नचाहदै पनि लघुकर्जाको ब्याजदर बढि हुन्छ। नेपालका ७७ वटै जिल्लाका अधिकांश पालिकाहरुमा लघुवित्त सेवा पुगेको छ र नपुगेका स्थान र तीनका टोलहरुमा पनि लघुवित्त संस्थाहरुपुग्ने योजनामा छन् । लघुवित्त कार्यालयबाट कर्मचारीहरु दैनिक ४–५ सय रुपैयाँ गाडीभाडा तिर्छन् । त्यहाँवाट पनि केहि घण्टा उकालीओराली गरेर लघुवित्त सेवा प्रदान गर्ने टोलमा पुगेर लघुवित्त सेवा प्रदान गर्छन् ।
घरदैलो सेवा दिने क्रममा नेपालमा मासिक ३० हजार रुपैयाँ आसपासको तलव खाने लघुवित्तको कर्मचारीले मासिक ५०–६० लाखको मात्रै कारोवार गर्नसक्ने अवस्था रहेको छ । लघुवित्त संस्थाको प्रशासनिक लागत ६ प्रतिशतसम्म हुने कुरा नेपाल राष्ट्र बैंकले पनि स्विकार गरिसकेको छ । यी सवै कारणले गरिव तथा विपन्न परिवारलाई कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाहरुले नचाहादा नचाहदै पनि लघुकर्जाको ब्याजदर बढि हुन्छ ।
यदि लघुवित्त सेवा प्रदान गर्ने क्रममा सेवाग्रहीलाई कार्यालयमा बोलाउने हो भने लघुवित्त संस्थाको यातायात खर्च कम हुने र कर्मचारीको समय वचत हुने भएकोले ब्याजदर सस्तो हुने देखिन्छ । यसरी सेवाग्राहीलाई कार्यालयमा बोलाउदा लघुवित्त संस्थाले खर्च गर्नुपर्ने यातायात खर्च र समय खर्च सेवाग्राही स्वयंले खर्चनु पर्ने हुन्छ । यी र यस्तै कारणले लघुवित्तको विशेषतामा नै बढि ब्याजदर समेत उल्लेख गरेको पाइन्छ ।

(७) लघुवित्तको कारोवारमा महिलालाई प्राथमिकता दिइन्छ ।अन्य विपन्न देशमा जस्तै नेपालका अधिकांश नागरिकहरु आर्थिक तथा सामाजिक रुपले पिछडिएका र कहाली लाग्दो वेरोजगारीकोे चपेटामा परेका छन् । अझ भन्ने हो भने जनसंख्याको आधा भन्दा वढिभाग ओगटेका महिलाहरु जो दुर्गम स्थानमा बस्छन् उनीहरुको अवस्था त झन् दर्दनाक छ । पितृसत्तात्मक सोचले गर्दा आर्थिक श्रोतको सम्पूर्ण हिस्सा पुरुषले ओगटेको पाइन्छ । घरायसी तथा कृषि क्षेत्रका अधिकांश काममा पुरुषको तुलनामा महिलाको झण्डै दोब्बर सहभागिता भएपनि देखिने र गणना हुने सम्पूर्ण क्षेत्रमा पुरुषको आँकडा प्रस्तुत् हुनेहँुदा नेपाली महिलाहरुको जीवनस्तर कमजोर भएको छ ।
परम्परागत सोचले गर्दा उनीहरु हेपिएर, थिचिएर तथा शोषित भएर वाँच्न विवश छन् । सीमित रुपमा उपलव्ध आम्दानीको श्रोतमा पुरुषको नियन्त्रण भएको तथा घरायसी कार्यमा प्रत्यक्ष संलग्न रहने महिलाले पुरुषले खटाएको रकमको तुलनामा खर्चको मात्रा धेरै हुने हुनाले दैनिक घर व्यवहार चलाउन धौ धौ परिरहेको पाइन्छ । अझै विपन्न वर्गका महिला अत्यन्तै कष्टप्रद जीवन जीउन विवश छन् । त्यसकारण लघुवित्त संस्थाले आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुलाई लक्षित गरी लघुवित्त सेवा सञ्चालन गरेका छन् । आर्थिक हिसावले अपमानित भएका महिलाहरु मार्फत परिवार र समाजमा पैसा भित्रिएपछि ती महिलाहरुको अनुहार हँसिलो भएको देखिएको छ । उनीहरुको सामाजिक हैसियत उचो भएको देखिएको छ ।

(८) लघुवित्त संस्था साना कृषकको सहयोगी साथी भएका छन् । जीवन खाद्यान्नको अधिनमा रहेको हुन्छ । त्यो खाद्यान्न उत्पादन गर्ने कृषक हुन् । हाम्रो जस्ता देशमा कृषिमा यान्त्रिकरण हुन धेरै वर्ष पर्खन पर्छ । यन्त्र उपकरण विनाको कृषिकर्म गर्दा कम्तिमा पनि काम गर्ने अबधिसम्म फोहोरी हुनुपर्छ । यसको लागि बढि श्रमको आवश्यकता पर्छ । त्यसैले यस्तो काम सम्पन्न वर्गले गर्न रुचाउदैनन् । लघुवित्त संस्थाहरु गरिव बस्तीहरुको खोजी गरेर त्यहाँ पुग्ने भएकोले लघुवित्त र कृषकलाई सहकार्य गर्ने वातावरण गराएमा गरिवी न्यूनीकरणको साथै राष्ट्रिय उत्पादनमा पनि थप सहयोग पुग्ने देखिन्छ । लघुवित्त र कृषकलाई जोड्दा लघुवित्त संस्थाको पनि परिकल्पना पुरा हुने अनि आर्थिक रुपमा पनि दुवै पक्षलाई फाइदा पुग्छ ।

(९) लघुवित्तले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दछ ।वित्तीयसाक्षरता, सरसफाई, बृक्षारोपण, शैक्षिक वातावरण, आयव्ययको लेखाजोखा जस्ता समाजका महत्वपूर्ण पक्ष हुन् । यि र यस्तै सचेतनामूलक कार्यक्रमहरुलाई लघुवित्तको आर्थिक कृयाकलापसँगै लगिएको हुन्छ । लघुवित्तका महिलाहरुले तमसुकमा आफ्नो नाम लेख्नैपर्ने चलन छ । समूहप्रवेश पूर्वतालिमको अवधिमा नाम लेख्न नजान्नेहरुलाई आफ्नो नाम लेख्न पनि सिकाइन्छ । मासिक रुपमा आफ्नो परिवारको आम्दानी खर्चको हिसाव राख्न, अनि फजुल खर्च कम गरेर मितब्ययी बन्न पनि सिकाइएको हुन्छ । हरेक वर्ष लघुवित्त संस्थाहरुले समूह प्रमूखहरुको गोष्ठि आयोजना गरेर वार्षिक रुपमा लघुवित्तलाई थप सुधार गर्न सेवाग्रहीको सुझाव लिने कार्य पनि गरिन्छ ।

(लम्सालले लघुवित्त संस्थामा १० वर्ष कार्यकारी प्रमुखको कार्यानुभव हाँसिल गर्नु भएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *