अपेक्षा ढुंगाना , /  लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्याउन सहयोग गर्दछ ।

कसका लागि ?
संसारमा २ थरीका जनसमुदाय हुन्छन् । एकथरी वित्तीय सेवा लिन आफैँ सक्षम जोसँग ज्ञान हुन्छ, सीप हुन्छ, कर्जा धितोका लागि सम्पत्ति हुन्छ र व्यवसाय गर्ने व्यवसायिक क्षमता पनि हुन्छ । बैङ्क तथा वित्तीय संस्थासँग सजिलै पहुँच हुन्छ । बैंक पनि त्यस्ता वर्गलाई सजिलै पत्याउँछन् । त्यस्ता व्यक्तिको प्रत्यक्ष रुपमा बैंकिङ पहुँच हुन्छ । अर्कोथरी जो वित्तीय सेवा लिन आफैँ सक्षम हुँदैन, ज्ञान, सीप पनि हुँदैन, कर्जा लिन धितोका लागि प्रसस्त सम्पत्ति पनि हुँदैन, पिछडिएका तथा वित्तीय पहुँच नभएका स्थानमा बस्छन् ।

बैंक तथा वित्तीय संस्थासँग सहज पहुँच पनि हुँदैन । त्यस्ता वर्गलाई बैंकले विश्वास पनि गर्दैैन । त्यो वर्गलाई गैरबैंक पहुँच भएका जनता भनिन्छ । लघुवित्त दोस्रो वर्गको जनसमुदायलाई वित्तीय पहुँच मार्फत् लघुवित्त सेवा प्रदान गर्ने हो । लघुवित्त संस्थाले त्यस्तै वर्गलाई आधार मानेर आफ्नो वित्तीय सेवा दिने हो । बैंक तथा वित्तीय संस्था समक्ष पहुँच नभएका जनसमुदायलाई वित्तीय सेवा प्रदान गर्नु नै लघुवित्त वित्तीय संस्थाको काम हो ।

किन ?
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान अझै ३० प्रतिशतको हाराहारीमा छ । कृषिमा आधारित धेरैजसो जनता वित्तीय सेवाबाट बञ्चित नै छन् । वित्तीय सेवाबाट बञ्चित रहेका जनतालाई स्थानीय स्तरमा कृषि व्यवसायको कुन क्षेत्रमा सम्भावना छ । त्यसका आधारमा लघुकर्जा प्रदान गरी सम्भाव्यताका आधारमा लघुवित्त मार्फत उन्नत धान खेती, तरकारी खेती, माछापालन, मासुजन्य पशुपालन, दूधजन्य पशुपालन, निर्यातजन्य चिया तथा अलैंचीजस्ता उच्च सम्भावना भएका खेतीलाई प्रवद्र्धन गर्न सकिन्छ, जसबाट नेपालको अर्थतन्त्र सुधार हुनुको साथै नेपालमा रोजगारीका थुप्रै सम्भावनाहरु हुने थिए । साथै, उत्पादन वृद्धि, आम्दानी वृद्धि र आर्थिक वृद्धि गर्न सकिन्छ । लघुबीमा मार्पmत् त्यस क्षेत्रका व्यवसायलाई सुरक्षित गरी संस्थाको लगानी तथा सेवाग्राहीलाई सुुरक्षित पार्न सकिन्छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् । लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो ।

नमुना उदाहरण

लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जा सदुपयोग गरी उद्यमी बनेका थुप्रै उदाहरणहरु हामीमाझ छन् । विशेषगरी, महिलाहरुले लघुवित्तको कर्जा प्रयोग गरी आफ्नो जीवनस्तर उकास्ने मात्र नभएर छोराछोरीका लागि राम्रो शिक्षा र भविष्यका लागि आर्थिक जोहो गर्नेसम्मको हैसियत बनाएका छन् । महिलाहरुको यस्तो मिहिनेत र अठोटले गरिब भएकोमा आफूलाई धिक्कार्दै बसेका थुप्रै परिवारहरुका लागि हौसलाको काम गरेको छ । यस्तै दुई महिलाहरुको सफलताको उदाहरणीय कथा यहाँ प्रस्तुत गरिन्छ । 

शिक्षा र तालिम नभएपनि मानिनन् हार
समाजले त एकछाक मासुका लागि पनि पत्याएन कर्जा । महिला, त्यसमाथि विपन्न वर्ग । शिक्षा पनि छैन तालिम पनि छैन । तर हिम्मतले बनायो सबैजनाले तारिफ गर्ने पात्र । उनको नाम हो आशा कुमारी चौधरी । सुनसरी जिल्लाको गढी गाउँपालिका । यसै ठाउँमा उनको कर्म हेर्न धेरै मानिसको लस्कर लाग्छ । उनले उत्पादन गरेको तरकारी किन्नका लागि समय पर्खनेहरु पनि उत्तिकै भेटिन्छन् यहाँ । पैसा भएर होइन, अरु कसैले गरेको देखेर पनि होइन । न त कसैले होसला नै दिएर हो । हो त केवल कर्मको बाटो रोजेर । काम गर्ने अठोट बोकेपछि मेरो माइक्रोफाइनान्सले आशा कुमारीलाई विश्वास गर्यो । अनि सुरु भयो कर्जाबाट उनको व्यबसाय । उनले आफूजस्तै अरु महिलालाई समुहमा ढालीन् अनि सुरु गरिन् एउटा व्यबसायीक कार्य । २७ जनाको समुहले रोजगारी पाएका छन् यहाँ । अहिले आफ्नै कर्मबाट आफै दंग छिन् आशा कुमारी चौधरी । आफ्नै पौरखबाट जोडिएका छन् कृषिजन्य औजारहरु, ट्याक्टरहरु । एकजनको भागमा बार्षिक करिव ५ लाख रुपैयाँ हात पर्नेगरी पाएको सफलताले भनिरहेको छ – संगठीत भएर काम गर्न सके पैसासँगै खुसी बटुल्न कहीँपनि जानु पर्दैन ।

८/१० हजारबाट सुरु गरेको सिलाई बुनाईले मालिक बनायो
‘सुरुमा त कहाँ ठुलो हुनु, पैसै थिएन’, पहिलो भेटमा लज्जाउँदै सीता खातुनले यही भनिन् । ८÷१० हजार जोहो गरेर सुरु गरेको सिलाई बुनाइले अहिले त मालिक बनायो एउटा गार्मेन्ट व्यबसायको । थोरैबाट सुरु गरेको कर्ममा स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले ५० हजार कर्जा दिएपछि हौसलासँगै व्यबसाय बढ्यो । मनभरी लाग्दैथियो जसरी पनि ऋण तिर्नैपर्छ र आफैले केही गर्नैपर्छ । सबै व्यथा र पीडा विर्सिएर कर्ममा होमएिपछि सीता खातुनका पाइलाहरु अघि बढ्दै गए । आज आज भोलि भोलि व्यबसायको विस्तारले एउटा उद्यमी बन्न समय नै लागेन । आफ्नै कर्मले घर बनेको छ । आफ्नै घरमा उद्योग खुलेको छ । २० जनाले रोजगार पाएका छन् । मासिक कम्तिमा लाख रुपैयाँ आम्दानी हुन्छ । सामान उत्पादन गर्ने र विक्री गर्ने दैनिकिले व्यस्त बनाएको छ । यही व्यस्तता र यही कर्मभित्र परिवारका सदस्य पनि खुसीले गदगद भएका छन् । समाजै उज्यालो बनाउने यी महिलाको घरायसी त्यो सिलाई बुनाई अहिले मार्गेन्ट उद्योग बनेको देख्दा लाग्छ समृद्धिको रेखा कोर्न मेहनत चाहिन्छ, लगाव चाहिन्छ जाँगर अनि हिम्मत चाहिन्छ ।

लघु बीमा पनि सँगसँगै

सामान्तयना लघुबीमा भनेको न्युन आय भएका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बीमा हो । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारण बाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बीमा नै लघुबीमा हो । जसलाई पशुपालनको चिन्ता, औषधि उपचारको चिन्ता, व्यापार व्यवसायको चिन्ता, साथै बाबालिकाको भविष्यको चिन्ताले सधैँ पिरोलि रहन्छ, त्यस्ता व्यक्तिले लघुबीमाका विभिन्न कार्यक्रमहरू, जुन कार्यक्रमले आफुलाई सहजता प्रदान गर्दछ त्यस्ता कार्यक्रमहरू उपयोग गर्नुपर्दछ । लघुबीमाले कम आयस्तर भएका व्यक्ति तथा जनसमुदायलाई समेट्छ । लघुबीमा कायर्यक्रम अरु बीमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरु प्रति लक्षित रहको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबीमा हो । यस्ता कार्यक्रमलाई सफल पार्न सकेमा आम मानिसहरुलाई बीमा क्षेत्रको दायरा भित्र ल्याउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *