मर्जर सम्झौतामा असफल भएपछि आधा–दर्जन लघुवित्तले मर्जर प्रकृया तोड्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न (डिमर्ज)को लागि अनुमति दिएको छ । मर्जर प्रक्रियामा भएपनि लामो समयदेखि अन्तिम टुंगो लाग्न नसकेका कम्पनीलाई राष्ट्र बैंकले शर्तसहित डिमर्जको अनुमति दिईएको छ । डिमर्जको अनुमति पाउनेमा आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त, नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त, तथा मिर्मिरे लघुवित्त र श्रीजनशील लघुवित्त रहेका छन् ।
समाज र स्वस्तिक लघुवित्त पनि डीमर्जको पर्खाइमा रहेका छन् । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश वितरण गर्न सक्नेछन् ।
राष्ट्र बैंकले तोकेको समयअवधि अर्थात २०७९ असार मसान्तसम्म अर्कोसँस्थासँग मर्जर वा प्राप्ति नगरेसम्म राष्ट्र बैंकले दिने अन्य सुविधाबाट समेत उनीहरु बन्चित रहनेछन् । यस्तै सेयरको दोस्रो बजारमा यी लघुवित्तहरुको सेयर कारोबार बन्द नै रही रहने छ ।
यता डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई तथा मिर्मिरे लघुवित्तले श्रीजनशिल लघुवित्तलाई प्राप्ति गर्ने सहमति गरेकाले यी लघुवित्तहरुको सेयर कारोबार पहिल्यैदेखि जारी रहेकाले अहिलेपनि कारोबार खुला नै रहेको छ ।
आँधीखोला लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कुल २० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नाडेप लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयाँ १४ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयाँ ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ ।
मिर्मिरे लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २ सय ३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।