पछिल्लो समय बैंकहरुमा देखिएको तरलताको असरका कारण यसको प्रभाव लघुवित्त क्षेत्रमा पनि परेको छ । बढ्दो कोरोना महामारी र तरलता अभावका कारण लघुवित्तहरु बढी प्रभावित हुन पुगेको छ ।

यसैबीच हामीले लघुवित्तमा तरलताको अभावका साथै कोरोनाका कारण पारेको प्रभावका विषयमा हामीले लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनै पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः–

कोरोनाको तेस्रो लहरले लघुवित्त क्षेत्रमा कस्तो प्रभाव परेको छ ?

पहिलो लहरको कोरोनामा भन्दा अहिले निकै समस्या छन् । ९५ प्रतिशतभन्दा धेरैलाई यसले समस्या पारेको छ । पहिले तरलताको अभाव थिएन, अहिले यसको समस्या छ । कर्जा नपाउने समस्या पनि उस्तै छ, पाइहाले पनि ब्याजदर चर्को छ। विविध समस्याका बावजुद काम गर्नुपर्ने अवस्था छ ।

अर्कातिर सरकारले २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने भनेको छ । यसले पनि समस्या थपेको छ । यस्तै खोपकार्ड अनिवार्य भनेको छ, यसले पनि समस्या नै छ । किनकी सबैले खोप लगाउन पाइसकेको अवस्था छैन । तैपनि चुनौतीलाई अवसरमा बदल्नु पर्ने अवस्था पनि छ।

सेवाग्राहीहरुमा पनि निकै ठूलो रिक्स छ । लगानीकर्ताहरुमा पनि तार्गेट पूरा गर्न नसक्ने अवस्था छ । लगानी बढाउन सकिने सम्भावना पनि छैन । तैपनि देशका ५४ लाख महिलाहरुको हितमा लघुवित्तहरु सक्रिय हुनु भनेको यो उपलब्धि नै हो । यसलाई सकारात्मक रुपमा लिनु पर्ने हुन्छ। यसलाई व्यवस्थित बनाउन भने चुनौती नै छ ।

कोरोनाले लघुवित्तमा कार्यरत कर्मचारीमा चाहिँ कस्तो असर पारेको छ नि ?

कोरोनाले सबैलाई समस्या छ । यसले धनि गरिब वा सानो ठूलो केही चिन्दैन। ऋणी वा लगानीकर्ता केही चिन्दैन । कर्मचारी काममा त जसरी नि लाग्छन्, काम नगरि पनि भएन नि ।

लघुवित्तमा मात्र होइन, विश्वमै समस्या ल्याएको कोरोनाले हामीलाई समस्या नहुने भन्ने त हुँदै भएन नि । मलाई लाग्छ अब कोरोना सामान्य रुघाखोकी जस्तै भइसक्यो । एकातिर कोरोना, अर्कातिर दैनिक काम गर्नु पर्ने अवस्था पनि छ । यसलाई सँगसँगै लैजानु पर्छ।

लघुवित्तहरु मर्जरको अवस्था के छ ? कसरी अगाडि बढेको छ?

सबैभन्दा ठूलो कुरा क्रस होल्डिङको छ । हामी राष्ट्र बैंकसँग सल्लाह गर्न सक्छौं तर नियम नमान्न सक्दैनौं । नमिलेका कुरा जानकारी गराउन सक्छौं । नेपालमा माइक्रोफाइनान्सको आवश्यकता छ । तर संख्यात्मक रुपमा धेरै छन् । यिनीहरुलाई घटाउने राष्ट्र बैंकको नीति सकारात्मक छ । यो हुनु पर्छ । कोरोनाले यसमा धेरै समस्याहरु ल्याएको छ । मर्जरमा हामी सहयोग गर्न तयार छौं, पहिलेदेखि नै गरेको पनि हो, पछि पनि गरिन्छ ।

लघुवित्त मर्जरका सकारात्मक पक्षहरु कस्ता छन् ?

मर्जरका सकारात्मक कुराहरु गर्नु पर्दा अहिले एउटाले दुई वा तीन वटासम्म लिन पाइने भन्ने छ । यो राम्रै कुरा हो ।पहिले एक सयभन्दा बढी थिए भने अहिले ६८ वटासम्म आइसकेका छन् । अरु पनि मर्जरको प्रक्रियामा छन् । यसलाई राष्ट्र बैंकले अझै अनिवार्य बनाउनुपर्छ । जे भए पनि मर्जर हुनु सकारात्मक हो । यसलाई व्यवस्थित बनाउनु पर्छ । कि गर्नै हुन्न भन्न सक्नु पर्यो नत्र गरिसकेपछि व्यवस्थित त बनाउनै पर्यो नि ।

बैंकहरुमा तरलताको अभाव अलि सहज हुँदै गएको अवस्था छ । लघुवित्तहरुमा चाहिँ यसको समस्या कस्तो छ ?

यो विषयमा चाहिँ सरकारले पनि बोलेको छ, राष्ट्र बैंकले पनि बोलेको छ । पहिलो कोरोनाको समयमा त्यति समस्या थिएन । पैसा थियो तर लगानी थिएन । तर अहिले निकै नै समस्या आएको हो । अब विस्तारै सहज हुन गएको छ । तर सहजको अवस्था लघुवित्तहरुमा आइसकेको छैन । आशा गरौं यो समस्याबाट हामी छिटै मुक्त हुनेछौं । पहिले जस्तै बन्नेछौं ।

लघुवित्तहरुले विदेशी संस्थाबाट ऋण ल्याउने भन्ने कुरा कहाँ पुगेको छ ?

यसमा सरकार ग्यारेन्टी बस्नु पर्छ । पहिले ठूला र पुराना लघुवित्तहरुले सरल व्याजमा ऋणलिन्थें तर अहिले सरकारले एकद्वार निती ल्याएको छ । पहिले जस्तो सजिलो छैन । व्याजदर महंगो छ, सरकारले ग्यारेन्टी लिएपछि मात्र सम्भव छ । हामी यसमा सरकारसँग छलफल गदैर्छौं ।

अन्त्यमा केही भन्नु छ की ?

कोरोनाको समयमा पनि लघुवित्तका समस्याहरुका बारेमा चासो राख्नु भयो । खुशी लाग्यो, धन्यवाद । हामीले सरकारका नीति नियमलाई मान्नुपर्छ । यस अवस्थामा सबै कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्छ । समस्यालाई अवसरको रुपमा लिएर अघि बढ्नु पर्छ जस्तो लाग्छ । काम गर्दै जाँदा समस्याहरु आउँछन् । समाधान पनि लिएर आउँछन् । आत्तिनु हुँदैन भन्न चाहन्छु ।

 

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]