धिरेन्द्र लाल कर्ण

प्रमुख कार्यकारी अधिकृत (सिइओ), स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड

पछिल्लो समयमा बैंक तथा वित्तमा जस्तै लघुवित्तमा पनि ब्याजदरको समस्या छ । लघुवित्तहरुले कार्यक्रम सञ्चालन गर्दा अधिकतम १५ प्रतिशत ब्याजदर हुनुपर्ने व्यवस्था राष्ट्र बैंकबाट निर्धारण गरिएको छ ।

लघुवित्तको वित्तीय स्रोतको मुख्य २ आधार रहेका छन् :-

१‍. ग्राहक सदस्यहरुबाट बचत संकलन गर्ने ।

२‍. बैंक तथा वित्तबाट कर्जा ल्याउने।

जसमा पहिलो स्रोत बचतको कुरा गर्दा पहिला लघुवित्तले ग्राहक सदस्यहरुबाट आवधिक बचतहरु संकलन गर्न सकिने व्यवस्था थियो । जसबाट ग्राहक सदस्यहरुले खुद्रा रुपमा गरेका बचतलाई आफ्नो पुँजीको रुपमा रुपान्तरण गर्न सक्थे ।संस्थालाई पनि वित्तीय स्रोतको रुपमा ठूलो राहत पुगेको थियो तर मैले बुझे अनुसार केही लघुवित्तले यसको व्यवस्थापनमा गरेको कमजोरीका कारण यस्ता बचत संकलन गर्न नपाउने निर्देशन आयो । अब यसलाई अध्ययन गर्ने हो भने त गल्ती गर्नेलाई कारवाही गर्नुका साटो केही व्यक्तिका कारण सिंगो लघुवित्त क्षेत्रलाई नै असर पर्ने गरी निर्देशन जारी भयो ।

अर्काे स्रोतको रुपमा रहेको बैक वित्तबाट प्राप्त हुने कर्जा रकमको कुरा गर्दा लघुवित्त संस्थाहरुले अहिलेको अवस्थामा १७ प्रतिशतसम्मको ब्याजदरमा कर्जा लिन बाध्य छन भने ग्राहकहरुलाई १५ प्रतिशतसम्ममा कर्जा दिइ रहेको छ । यो भनेको ब्याजदर व्यवस्थापनमा आएको ठूलो समस्या हो । नेपाल लघुवित्त बैंकर्स संघमार्फत पनि हामीले यस विषयमा कुरा उठाएका छौँ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी बैंक तथा वित्तीय संस्थाको वर्ग छुट्याएको छ र सोही अनुसार कर्जा सिमा समेत निर्धारण भएको छ तर हालको अवस्थामा बैंक तथा वित्त संस्थाहरुबाट समेत लघुवित्तलाई निर्धारण भएबमोजिमको कर्जा धितो तथा विनाधितोको रुपमा प्रवाह भइरहेको छ ।

एक त लघुवित्त संस्थाहरु आफैमा अस्वस्थ प्रतिस्पर्धा गर्दे कर्जा प्रवाह गरिरहेको अवस्था छ । त्यसमाथि बैंक तथा वित्त संस्थाबाट समेत त्यस्ता कर्जा प्रवाह भएको कारण लघुवित्त क्षेत्रमा ठूलो चुनौती आएको देख्छु ।

किनकी लघुवित्त संस्थाबाट लगानी भएका कर्जाको अवस्था कर्जा सुचना केन्द्रबाट प्राप्त हुन्छ तर बैंक तथा वित्त संस्थाबाट भएका विपन्न वर्गका कर्जाको सुचना प्राप्त हुदैन जसकारण ग्राहक सदस्यको कर्जाको क्षमता पहिचान गर्न कठिनाई भईरहेको छ ।

अर्काे कुरा लघुवित्तलाई गरिएको निर्देशन अनुसार एउटै ग्राहकलाई धितो र विना धितो कर्जा प्रवाह गर्न पाईदैन । यो निर्देशन लागु गर्नुको उदेश्य धितो हुँदा पनि क्षमता भन्दा बढी कर्जा प्रवाह नहोस भन्ने  उदेश्य हुनुपर्छ ।

अहिले देखिएको अवस्था के छ भने धितो राखी कर्जा लिनुपरे बैंक तथा वित्तबाट लिने अनि सोही ग्राहकलाई फेरि विना धितो चाहिएमा लघुवित्तमा आउने, अब फरक-फरक वर्गका संस्थाबाट त एकै जना ग्राहकले कर्जा उपभोग गरे ।

तर दुवै वर्गका संस्थाले उक्त ग्राहकको एउटै आयश्रोतको अध्ययन गरि कर्जा प्रवाह गरेर दुवैलाई निज ग्राहकको कर्जाको पुर्ण सूचना प्राप्त भएन । यसकारण पनि अहिले कर्जा असुलीमा समस्या देखिएको छ । यो नीतिका कारण उत्पन्न भएको समस्या हो । यो समस्या समाधान नीतिबाट नै हुने देखिन्छ यसकारण पनि लघुवित्तलाई निर्धारण गरिएका सिमा सम्म बैंक तथा वित्तले खुद्रा रुपमा गरेका लगानीलाई व्यवस्थापन गर्नुसँगै कर्जा सूचनालाई पनि एकीकृत गर्नु आजको आवश्यकता रहेको छ । नीति अनुसार बैंक तथा वित्त संस्थाले आफुले लगानी गरेको कुल कर्जाको ५ प्रतिशत बिपन्नवर्ग क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ ।

तसर्थ, बैंक तथा वित्त संस्थालाई उक्त सीमासम्मको रकम आफै नगरी लघुवित्तमार्फत गर्न लगाउने हो भन्ने लघुवित्तमा वित्तीय श्रोतमा सहजता हुने, कर्जाको जोखिम कम हुने, तथा लघुवित्तले हाल लिँदै आएको १५ प्रतिशतको ब्याजदरलाई समेत न्यून गर्न सकिन्छ । र बैंक तथा वित्त संस्थाहरुको वर्गिकरण गर्नुका उदेश्य पनि पुरा हुन्छ जस्तो लाग्छ ।

‘वेश रेटमा प्रिमियम रेट’ तोकौं’

बैंक तथा वित्त संस्थाले ग्राहकलाई बेस रेटमा प्रिमियम थप गरी कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ र हालको अवस्थामा बैंकहरुले बेसरेटमा ६.५ प्रतिशत सम्म थपेर लघुवित्तलाई कर्जा प्रदान गरेका अवस्था छ । यसरी बैंकले थोक कर्जा प्रवाहगर्दा बैंकको हुने प्रशासनिक खर्च कति हो त ? यो कुराको अध्ययन गर्न जरुरी छ ।

अब बेसरेटमा लिने प्रिमियम दरलाई व्यवस्थापन गरी २ वा ३ प्रतिशतमा व्यवस्थापन गर्ने हो भन्ने लघुवित्तले पाउने ब्याजदरमा समेत न्यून हुने देखिन्छ र सोही अनुसार लघुवित्तको संचालन खर्च अध्ययन गरी लघुवित्तमा पनि बेसरेट तथा प्रिमियम निर्धारण गरी ब्याजदरलाई व्यवस्थापन गर्ने हो भन्ने लघुवित्तको हालको १५ प्रतिशत ब्याजदरलाई समेत व्यवस्थापन गर्न सकिन्छ र व्याजदरको समस्यालाई समाधान गर्न सकिन्छ ।

उद्यमशिलताको विकासमा लघुवित्तको ठूलो भूमिका

हाल देशमा सम्पुर्ण व्यक्तिहरुको हातमा मोबाईल तथा संचारको सुविधा भएको छ र यसलाई सकारात्मक तवरले हेर्ने हो भन्ने राम्रो कुरा हो तर सकारात्मक भन्दा पनि नकारात्मक तवरले विषयवस्तुलाई प्रस्तुत गरी सामाजिक संजाल मार्फत प्रवाह भएको बढी देखिन्छ जस्तै आज भन्दा १२-१५ वर्ष अघिको कुरा गरौँ उक्त समयमा पनि नेपालमा बैंक तथा वित्त संस्थाहरु थिए ।

तर ग्रामिण भेगमा ति संस्थाहरुको कार्यक्रम कति थियो त ?, वा भनोै ग्रामिण भेगका कति प्रतिशत जनताले बैंकिङ्ग सुविधा उपभोग गरेका थिए । त्यस्तो समयमा लघुवित्त संस्थाहरुले ग्रामिण भेगमा लघुवित्त कार्यक्रम मार्फत बैंकिङ्ग सेवा प्रदान गरी ग्रामिण भेगका जनताको आर्थिक विकासमा ठुलो टेवा पु¥याएको थियो र यसलाई निरन्तरता दिई रहेको छ ।

तर हाल आएर लघुवित्त संस्थाको सेवा पाएर भएका प्रगतीका उदाहरणहरु सामाजिक संजालमा आउनका साटो लघुवित्तका नकारात्मक विषयवस्तुहरु बढि आउने गरेको देखिन्छ मैले यो भन्न खोजेको हैन कि लघुवित्त संस्थाहरुले गरेका सबै कार्य असल छन, होला एकै परिवारमा एउटै संस्कारमा हुर्केका सदस्यहरुको सोच बुझाई फरक भएजस्तै लघुवित्त कार्यक्रम संचालन गर्ने संस्थाहरुको पनि आ आफनै कार्यशैली होला तर कुनैपनि लघुवित्तका कार्यशैलीले ग्राहक सेवामा नकारात्मक संदेश जानेगरी कार्य गरेको होला जस्तो लाग्दैन ।

तर संस्थामा कार्यरत कर्मचारीको व्यक्तिगत व्यवहार तथा सदस्यको व्यवहारले गर्दा घटेका विभिन्न घटनाहरु हामी देख्दै भोग्दै आईरहेको छौ यसको अर्थ यो हैन कि लघुवित्तले गरेको कार्यशैली नै गलत हो वा यसले समाजमा असल भुमिका नै निर्वाह गरेको छैन ।

तसर्थ, मेरो यसै बिचारमा मार्फत म सम्पुर्ण लघुवित्तकर्मी साथीहरु तथा लघुवित्त सेवा लिईरहनु भएका ग्राहक सदस्यहरुसँग अनुरोध गर्छु कि लघुवित्त कार्यक्रमलाई थप व्यवस्थित तथा विकास भएको देख्न चाहनुहुन्छ भने आ- आफनो स्थानबाट तपाईले वा तपाईको क्षेत्रमा लघुवित्त कार्यक्रमले भएका परिर्वतनहरुको बारेमा सबैले अध्ययन गर्नु आवश्यक छ ।

लघुवित्तका चुनौती तथा समस्याहरु

लघुवित्त कार्यक्रम विपन्नवर्गीय, वित्तीय साक्षरता नभएको व्यक्तिहरुमाझ गरिने आर्थिक कार्यक्रम भएको हुँदा यसमा देखिएका समस्याहरुलाई किटान गर्न सकिन्न । यसमा देशको राजनीति, आर्थिक, विभिन्न रोग वा प्रकृति प्रकोपबाट पर्ने समस्याहरु त छदैछ त्यसमाथि पनि नीतिगत, सामाजिक, व्यक्तिगत, व्यवहारिक, भौगोलिक लगायत अन्य विभिन्न किसिमका चुनौती समस्याहरु आईरहेको छ ।

सबै मिलेर समाधान समेत गर्दे आईरहेका छौँ तर पनि केही विशेष समस्या तथा चुनौतीहरुलाई इंगित गर्ने हो भने आजको ठूलो समस्या लघुवित्त संस्थाको संख्या, कर्मचारी व्यवस्थापन, ग्राहकहरुमा भएको दोहोरोपना, लक्ष्य तथा प्रगतीको कारण ग्राहक पहिचानमा भएको त्रुटि, ग्राहक सदस्यहरुबाट लुकाईने सुचना, बिगतको तुलनामा बैंक तथा वित्त संस्थाहरुले गर्दे आएको खुद्रा बिपन्न कर्जा, सामुहिक जमानीको भावनामा कमी, कर्मचारीहरुमा जागिरे प्रवृति जस्ता समस्याहरु छन् ।

समाधानका उपाय

लघुवित्तका समस्याहरुलार्ई मेरो बिचारमा दुई तरिकाले वर्गिकरण गरी समाधान गर्न सकिन्छ पहिलो बाह्य उपाय जसमा देशको राजनीतिमा स्थिरता भई लघुवित्तलाई पनि एउटा मुख्य बिषयवस्तुको रुपमा लिई स्थिर नीति नियम लागु र कार्यान्वयन गर्नु, नेपाल राष्ट्र बैंकमार्फत हाल भईरहेको अनुगमन प्रक्रियालाई थप प्रभावकारी बनाई वार्षिक रुपमा मात्र अनुगमन गर्ने भन्दा पनि संस्थाहरुको कार्यक्षेत्रको आधारमा वर्गिकरण गरी आवश्यकता अनुसार अनुगमन हुनु पदर्छ ।

केन्द्रीय बैंकबाट जारी निर्देशनहरुमा परिमार्जन हुनु, र आन्तरीक उपायमा सम्पुर्ण लघुवित्त संस्थाले कर्मचारी पलायन हुने विषयलाई गम्भीर रुपमा अध्ययन गरी कर्मचारी पलायन हुनबाट जोगाउनु साथै मर्जर-एक्विजिशनलाई प्राथमिकतामा राखी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कार्यान्वयन गर्नु र नेपाल राष्ट्र बैंकले समेत मर्जर-एक्विजिशनमा आएका समस्याहरुलाई अभिभावकत्वको भुमिका निर्वाह गर्दे सामाधान गर्ने र मर्जरकार्यमा व्यक्तिगत स्वार्थराखी समस्या उत्पन्न गर्ने निकायलाई कारवाही गर्दे जाने हो भने लघुवित्तका समस्याको समाधान हुनेछ ।

स्वस्तिक लघुवित्तको अवस्था

स्वस्तिक लघुवित्त (मधेश प्रदेश कार्यक्षेत्र स्वीकृत प्राप्त) प्रदेशस्तरको एक लघुवित्त वित्तीय संस्था हो । यसले हाल सप्तरी, सिरहा, धनुषा र महोत्तरीमास्थित शाखा कार्यालयहरु मार्फत छोटो समयमा १३ हजारभन्दा बढी सदस्यहरुमा लघुवित्त सेवा प्रदान गर्दे आईरहेको संस्था हो ।

यस लघुवित्तको अधिकृत पुँजी ६ करोड, जारी पुँजी २ करोड, र चुक्ता पुँजी १ करोड २० लाख रहेको छ भने संस्थामा ४४जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाले ६८ करोडको कर्जा लगानी गरेको अवस्था छ ।

त्यस्तै सदस्यहरुबाट १७ करोडभन्दा बढीको बचत संकलन गरेको छ । ऋणी संख्या पनि ९ हजार लगभग रहेको छ । भने संस्थाको खराब कर्जा २.७८ प्रतिशत रहेको छ जसलाई न्युनीकरण गर्ने प्राथमिकतामा राखी कार्यसम्पादन गर्दे आएका छौँ । हाल स्वस्तिक लघुवित्त मलगंवामा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्त वित्तीय संस्था लिसँग मर्जर प्रक्रियामा रहेको छ ।

(स्वस्तिक लघुवित्तका सिइओ धिरेन्द्र लाल कर्णसँग गरिएको कुराकानीको सम्पादित अंश)

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds