आरम्भ चौतारी लघुवित्तको नवौं वार्षिक साधारण सभाः मर्जरको अख्तियारी संचालक समितिलाई

लघुवित्त न्यूज डटकम/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा बनेपा ८, काभ्रेपलाञ्चोकस्थित बनेपा पार्टी भेन्यूमा भव्यताका साथ सम्पन्न भएको छ ।
साधारण सभामा संचालक समितिका अध्यक्ष विनोद ज्ञवालीद्धारा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न अराजक संगठनहरुबाट श्रृजित समस्याले गर्दा लक्षित वर्गमा लघुवित्त संस्थाहरुलाई घरदैलोमा गइ वित्तीय सेवा प्रदान गर्न कठिन भएको बताए ।
विगतका वर्षहरुमा शेयरधनिहरुलाई लाभांश वितरण गर्न नसकेको भएतापनि र यस आर्थिक वर्षको दोश्रो त्रैमासमा संस्थाले ३ करोड ५५ लाख खुद नाफा गर्न सफल भएको उनले बताए ।

नवौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/२०८१ को वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०८१/२०८२ को लागि बाह्रय लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण र संस्थालाई एकापसमा गाभ्ने/गाभिने अख्तियारी संचालक समितिलाई दिने निर्णय पारित भएको छ ।
साधारण सभाबाट संस्थापकतर्फबाट ४ जना संचालकहरु विनोद ज्ञवाली, पुष्पराज ढकाल, सन्तोष पोख्रेल र गोपाल वश्याल सर्वसहमतिमा निर्वाचित भएका तथा सर्वसाधारण शेयरधनीहरुको संचालकतर्फबाट चुनावी प्रक्रियामा तीन जना प्रतिस्पर्धी विमल आचार्य, दयाराम जैशी र तिर्थसागर अर्याल रहेकोमा मतदान प्रक्रियाबाट तिर्थसागर अर्याल र विमल आचार्य संचालकमा निर्वाचित भएका छन् ।
नवौं वार्षिक साधारण सभाबाट मनोनित ६ जना निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत हरिबहादुर बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन माथि सर्वसाधारण शेयरधनीहरु गोविन्द जि.सी., लभराज जोशी, चन्द्रनारायण श्रेष्ठ, वैजनाथ रौनियार, सुदिप श्रेष्ठ, निरुपमा गुप्ता र ब्रम्हदेव शाक्यले टिकाटिप्णी तथा रचनात्मक सुझाव दिए ।
संस्थाका अध्यक्ष विनोद ज्ञवालीको अध्यक्षतामा सम्पन्न नवौं वार्षिक साधारण सभाको संचालन कम्पनी सचिव तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले गरेका थिए । निर्वाचित संचालकहरुको पहिलो बैठकले संचालक समितिको अध्यक्ष पदमा विनोद ज्ञवालीलाई सर्वसहमतीले चयन गरेको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ५३ जिल्लाहरुमा कार्यक्षेत्र रही १३५ वटा शाखा कार्यालयहरुबाट १ लाख सदस्यहरुमार्फत १ अर्व ७७ करोड बचत संकलन गरी ३५ हजार ऋणी सदस्यहरुलाई ४ अर्व ८० करोड कर्जा लगानी गरी यस अर्धबार्षिक अवधिमा ३ करोड २७ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले निस्क्रिय कर्जा २.९१ प्रतिशत रहेको छ ।
