लघुवित्तमा ऋण नतिर्नेहरु बढेको बढ्यै, के केन्द्रीय बैंकले लघुवित्तलाई कम वास्ता गर्दैछ ?
लघुवित्त / बैंकहरुका खराब ऋणी जस्तै लघुवित्त क्षेत्रमा पनि ऋण नतिर्ने ग्राहकको संख्या उच्च रहेको पाइएको छ । आर्थिक मन्दी, ऋण मिनाहा आन्दोलन र दोहोरो कर्जाको समस्याले ग्रस्त लघुवित्त क्षेत्र थप दबावमा परेको छ । समयमै ऋण फिर्ता गर्न नसक्ने ग्राहकको संख्या अकल्पनीय रुपमा बढ्दा संस्थाको कर्जा असुलीमा समस्या भएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकअन्तर्गत कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१/८२ मा कालोसूचीमा पर्ने लघुवित्त ऋणीको संख्या १४४ प्रतिशतले वृद्धि भई ९ हजार ४४३ पुगेको छ ।
अघिल्लो वर्ष ३ हजार ८७२ रहेको संख्या एकै वर्षमा ५ हजार ५७१ ले बढ्नु लघुवित्त क्षेत्रको संकटको संकेत हो। २०७९ सालदेखि कर्जा सूचना केन्द्रमा लघुवित्त संस्थाको अनिवार्य सदस्यता लागू भएपछि ऋणी सम्बन्धी छुट्टै तथ्यांक संकलन सुरु गरिएको हो। सो अवधिदेखि नै ऋण तिर्न नसक्नेहरूको संख्या उच्च गतिमा बढिरहेको देखिन्छ।