नेरुडे लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण
कञ्चनपुर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा–८ काभ्रे अन्तर्गत सुदूरपश्चिम तथा कर्णाली प्रदेश मातहतको पुनर्वास नगरपालिका–३ आईबीआरडी शाखा कार्यालयद्वारा मृतक दान सिंह धनाडीको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ।
मोटरसाइकल र अटो दुर्घटनामा परि असार २१ गते उपचारका क्रममा निधन भएका पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक धनाडीको परिवारलाई बीमा स्वरूप रु. ५ लाख ८४ हजार ८० हस्तान्तरण गरिएको हो।
सोमध्ये काजक्रिया खर्चका लागि तत्काल रु. २५ हजार प्रदान गरिएको थियो भने बाँकी रु. ५ लाख ५९ हजार ८० बीमा अन्तर्गत मृतककी श्रीमती मिना देवी धनाडीलाई हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख वीरेन्द्रकुमार झाले धनाडीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै बीमा रकम मृतक परिवारलाई हस्तान्तरण गरे । सो अवसरमा पुनर्वास नगरपालिका–२ का वडा अध्यक्ष डम्बरबहादुर थापा, समाजसेवी रामसिंह बिष्टसहित स्थानीय महिला दिदीबहिनी र छरछिमेकको उपस्थिति रहेको थियो।
कार्यक्रममा पुनर्वास आईबीआरडी शाखा प्रमुख खगेन्द्र भट्टले हाल यस शाखामा ८६३ जना सदस्य रहेको जानकारी दिए । उनका अनुसार मृतक धनाडीले २०८० साल फागुन २४ गते ३ लाख ५० हजार रुपैयाँ ऋण लिएको र २०८१ साल फागुन १९ गते उक्त ऋण पूर्ण रूपमा चुक्ता गरिसकेको भए पनि ऋणको भाका भने २०८५ साल माघ २३ गतेसम्म रहेको थियो।
शाखा प्रमुख भट्टले यस कार्यालयमार्फत एकल महिलालाई सीपमूलक तालिम, जनचेतनामूलक कार्यक्रमलगायतका सामाजिक गतिविधि निरन्तर सञ्चालन भइरहेको जानकारी गराए ।
त्यस्तै वडाध्यक्ष डम्बरबहादुर थापाले मृतक परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे ।
साथै, अन्य लघुवित्त र सहकारी संस्थाहरूले समाजमा अनियमितता र हिनामिना गर्ने घटना भए पनि पुनर्वासमा भने त्यस्ता घटना नभएको बताउँदै लघुवित्त संस्थालाई जनहितका काममा निरन्तर लागिरहन आग्रह गरे ।
प्रदेश प्रमुख झाले देशभरका २२५ शाखामार्फत नेरुडे लघुवित्तले निरन्तर सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान गर्दै आएको बताए ।
उनले जनताको बचतलाई सुरक्षित राखी भविष्यमा काम लाग्ने गरी सदुपयोग गर्ने कार्यमा संस्था निरन्तर खटिरहेको उल्लेख गरे ।