यस्तो छ लघुवित्तको लाभांश क्षमताः कुनको कति ?
लघुवित्त न्यूज डटकम । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशको सीमा बढाएको छ । अब लघुवित्त कम्पनीहरूले पूँजीकोष र निष्क्रिय कर्जा अनुपातलाई आधार मानेर अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन् । यसअघि यो सीमा १५ प्रतिशत थियो ।
हाल नेप्सेमा ५० लघुवित्त कम्पनी सूचीकृत छन् । तीमध्ये ४८ कम्पनीले लाभांश वितरण गर्न सक्ने भए पनि नेष्डो समृद्ध र एनआईसी एशिया लघुवित्त भने घाटामा परेकाले यसपटक लाभांश दिन सक्ने छैनन् ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार छिमेक, जीवन विकास, साना किसान र मिथिला लघुवित्तले धेरै लाभांश दिन सक्ने क्षमता भए पनि अधिकतम २५ प्रतिशतमै सीमित हुनेछन् । त्यसैगरी, समाज, सपोर्ट, महुली, नेशनल, डिप्रोक्स, निर्धन उत्थान र ग्लोबल आईएमई लघुवित्तले २० प्रतिशतसम्म लाभांश दिन सक्नेछन् ।
यस्तै, सातवटा लघुवित्तले १५ प्रतिशतसम्म र छवटा लघुवित्तले १० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने छन् । तर अभियान, नाडेप, मितेरी, विन नेपाल, ग्रामीण विकास र जनसेवी लघुवित्तले नकारात्मक मुनाफाका कारण लाभांश वितरण गर्न नसक्ने भएका छन् ।

