लघुवित्तले फेरिएको हर्कजित र दिपाको सफलताको कथा
काठमाडौं । ईलामको सुर्योदय नगरपालिका वडा नं. ११ बैशाखेका हर्कजित राई एक सामान्य कृषक हुनुहुन्छ । उहाँको ३ जना सन्तान र श्रीमती दिपा राईसहित ५ जना हुनुहुन्छ । आफ्नो खेतीको आम्दानीबाट ३ महिना खान नपुग्ने भएपछि परिवार पाल्न विदेशिन बाध्य हुनुपरेको यथार्थ उहाँमा छ । वैदेशिक रोजगारीका लागि ५ वर्ष दुबई गई अत्यन्तै कष्टकर काम गर्न उहाँ बाध्य हुनुभयो ।
उहाँले मासिक रु.१५ हजारमात्रै घर पठाउनुहुन्थ्यो । जतिकाम गरेपनि विदेशमा कमाएको पैसाले घर धान्न नसकेपछि उहाँ अन्ततः नेपालमै बसेर केही गर्ने सोच राखेर स्वदेश फर्कनुभयो । तर स्वदेशमा पनि खासै सोचे जस्तो कुनै पेशा र व्यवसाय नभेटेपछि पुनः राम्रो आम्दानी हुने आशले अन्य देशकोे लागि पनि प्रयास गर्न थाल्नुभयो ।
सोही समय (२०७१ साल माघमहिना) मा छिमेक लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय तिनघरे ईलामको कर्मचारी समुह निर्माणको लागी लगनशिल र इमान्दार सदस्य खोज्दै जाँदा हर्कजित राईसँग भेट भयो । कर्मचारीसँग संस्थाको सेवा सुविधाको बारेमा सबै कुरा राम्रोसँग बुझेपछि उहाँ खुशीहुनुभयो ।
उहाँको पहलमा २०७१।१०।२४ गते १५ जनाको ईकाइ दर्ता भयो । १५ जना सदस्यमध्ये १ जना हर्कजित राईको श्रीमतिदिपा राई पनि हुनुहुन्थ्यो । दिपा राई समुहको सदस्य भएपश्चात दोस्रो पटक विदेश जाने तयारी अवस्थामा रहनु भएको उहाँ अब विदेश नगई छिमेकको साथले यहि केही गर्ने सोच बनाई घर सल्लाहमा पहिलो कर्जा रु.४० हजार लिई पशुपालन व्यवसाय गर्न थाल्नुभयो ।
दोस्रो पटक पशुपालन शिर्षकमा पुनः रु.६० हजार ऋण लिनुभयो । तर पशुपालनबाट सोचे जस्तो प्रगती नभएपछि व्यवसाय परिवर्तन गर्ने सोच बनाउनुभयो ।
शाखा कार्यालयमा गई ऋण र व्यवसायको बारेमा सल्लाह गर्नुभयो । उहाँको क्षेत्रमा तरकारी खेती उत्पादन र बजारीकरण अन्य पेशा भन्दा उपयुक्त भएकाले पुनः रु.८० हजार ऋण लिएर तरकारी व्यवसाय गर्न थाल्नुभयो । व्यवसाय त गर्नुभयो तर यसबाट पनि सोचे जस्तो आम्दानी नभएपछि उहाँलाई तालिमको आवश्यकता पर्यो ।
शाखा कार्यालयमा गई आफुलाई तालिम लिन मन लागेको कुरा व्यक्त गर्नुभयो । इटहरीमा आयोजना भएको व्यवसायीक तरकारी खेती तालिममा सहभागी हुनुभयो । उक्त तामिलमा उहाँले तरकारी व्यवसाय कसरी गर्ने ? यसको बजार कहाँ हुन्छ ? व्यवसाय गर्दा रोग किराको नियन्त्रण र समाधान कसरी गर्ने ? नर्सरी व्यवस्थापनका साथै बेमौसमी तरकारी खेती कसरी गर्ने ?आदीको बारेमा ज्ञान प्राप्त गर्नुभयो ।
तालिम लिएपछि श्रीमान श्रीमति सल्लाह गरी ऋण माग गर्ने र व्यवसायीक तरिकाले तरकारी खेतीगर्ने निर्णय गर्नुभयो । र अनुशासन कर्जा शिर्षकमा रु.३ लाख ऋण लिई तरकारीको बिउविजन, बिषादी, कृषि औजार, सिँचाईको लागी आवश्यक पाईप तथा अन्य समाम्री खरिद गरी व्यवसायिक तरिकाले ३ रोपनीमा अकबरे खुर्सानी, १ रोपनीमा गोलभेडा, १ रोपनीमा बन्दा, १ रोपनीमा सिमी, २ रोपनीमा काँक्रा उत्पादन गर्न थाल्नुभयो । उत्पादनले साथ दिनथालेपछि पुनः रु.५ लाख विना धितो ऋण लिएर सोही व्यवसायमा लगाउनुभयो । हालसम्म पटक–पटक गरी रु. १७ लाख १० हजार ऋण लिई रु १२ लाख १० हजार तिरिसक्नु भएको छ ।
उत्पादित तरकारी बिक्रीको लागी आफ्नै घोडालाई बोकाएर नजिकको तिनघरे बजार, ईलाम बजार, फिक्कल बजार, पशुपतिनगर बजार ढुवानी गर्ने र धेरै तरकारी हुँदा गाउँको सानो मोटरमा राखी प्रति केजी २ रुपैयाँमा भाडा तिरेर टाढाको बजारसम्म लैजान थालेको हर्कजित राईर दिपा राइको भनाई छ । यसरी आएको कमाईबाट व्यवसायलाई कम्पोष्ट मल पनि हुने, घरमा केटाकेटी र आफुलाई दुध खान पनि हुने र दुध बिक्रीबाट आम्दानी पनि हुने भएकोले २ वटा गाई पालन समेत गर्नु भएको छ ।
हर्कजितको अनुसार व्यवसायमा पूर्ण रुपमा उनकी श्रीमती दिपा राई र छोरीहरुले समेत सहयोग गर्दै आएका छन् । यसअघि ८ रोपनी जग्गामा धान, मकै, कोदो लगाउँदा रु.१५ हजार आम्दानी हुन मुस्किल हुन्थ्यो । तर यहि जग्गामा त्यती नै श्रम गरि काँक्रो, फर्सी, साग, अकबरे खुर्सानी, स्कुस, करेला, आलु लगाउँदा पहिलो ५ महिनामा नै लगभग ३ लाख जति आम्दानी भएकोले यस ब्यवसायप्रति आर्कषण बढेको बताउनुहुन्छ । व्यवसायबाट आएको आम्दानीबाट दैनिक घरखर्च चलाउन, चाडपर्ब मनाउन, बच्चाहरुलाई पढाउन, वित्तीय संस्थाको मासिक किस्ता तिर्न र बचत गर्न पुग्नुको साथै र दुःख बिमारी तथा आपत पर्दा पहिलाको जस्तो साहुको ढोका ढक्ढक्याउने अवस्था नरहेको बताउनुहुन्छ ।
व्यवसायबाट आएको आम्दानीले ५ रोपनी जग्गा समेत किनि सक्नुभएको छ भने आगामी दिनमा घडेरी किन्ने योजना समेत रहेको बताउनुहुन्छ । हाल उहाँको परिवार गाउँको उदाहरणीय परिवार बनेको छ । उहाँको तरकारी व्यवसाय देखेर गाउँका युवाहरुपनि यस व्यवसायप्रति आर्कषित भएका छन् ।
तरकारी खेती सम्बन्धि केही जानकारी वा सरसल्लाह लिनुपर्यो भने उहाँहरुसँगै नैलिने गरेका छन् । विदेशमा १८ घण्टा आँसु र पसिना बगाई परिवारको सम्झना बोकेर दुःख गर्दा मासिक रु.२० हजार कमाउन नसकेको तर यहाँ परिवारसँग सुख, दुःख बाँडेर दैनिक ८ घण्टा मात्रै कामगर्दा पनि विदेशमा भन्दा बढी आम्दानीका साथै गाउँ समाजमामान, सम्मान, इज्जत, प्रतिष्ठा बढेको बताउनुहुन्छ । यस छिमेक लघुवित्तको मात्र सदस्य रहेकी उहाँले २०७६ साल शाखाले आयोजना गरेकोइकाई भेला कार्यक्रममा उत्कष्ट व्यवसायीको पुरस्कार पाउन समेत सफल हुनुभएको छ ।
(प्रस्तुतकर्ता: आनन्द भट्टराई इकाई प्रवन्धक(कृृषि प्राविधिक) छिमेक लघुवित्त वित्तीय संस्था ।)