कर्जाको सही सदुपयोग गर्दा फेरियो अमृतादेवीको दैनिकी
मेहनत गरेपछि अवश्य सफल भइन्छ भन्ने उखानलाई सार्थक रुपमा व्यवहारमा लागु गर्न सफल अमृतादेवी थापा मगर, बुबा तिलक पुन मगर र आमा तुलसी पुन मगरको कोखबाट २०४० साल कात्तिक १५ गते साविक सुगरखाल गा.वि.स. वडा नं. ७ हाल महोन्याल गा.पा.वडा नं. ३ फल्लेविसावन कैलालीमा जन्म भएको हो ।
अमृता देवी थापा मगरको बाल्यकाल दुखद पूर्ण रह्यो । १२ भाइ र ७ दिदीबहिनीमध्ये कान्छी बहिनीको रुपमा जन्मिएकी अमृताको ठुलो परिवार र कमाइ गर्ने कोही नभएकोले घरको आर्थिक अवस्था कमजोर नै थियो । न्यून आय भएकै कारण अमृताको पढाइ सफल हुन सकेन । अति मिलनसार र परिश्रमी रहनु भएकी अमृता पढाइमा साह्रै अब्बल थिइन् ।
कक्षा ४ सम्मको मात्र पढाइ पुरा गरेकी अमृता आर्थिक समस्याका कारण त्यसपछिको पढाइलाई अगाडि बढाउन सक्नु भएन उच्च शिक्षा पढी ठुलो मान्छे बन्ने सपना सपनामै सिमित रह्यो । पढाइ छुटेपछि अमृता आफ्नो भविष्यको बारेमा धेरै चिन्तित रहेको बताउँछिन् । सानै उमेरमा अरुको घरमा काम गरेर जिविकोपार्जन गर्ने अमृता आफ्ना साथिहरु स्कुल पढ्न गएको देखेर धेरै रोएको अहिले पनि सम्झना आइरहने बताउँछिन् ।

२०५९ सालमा साविक सुगरखाल गा.वि.स. वडा नं. २ हाल महोन्याल गा.पा. वडा नं. ३ फल्लेविसावन कैलाली निवासी लोक बहादुर थापा मगरसँग वैवाहिक सम्बन्धमा गाँसिएकी अमृताको दुःखका दिन सकिएन । नयाँ घर परिवारसँगको सम्बन्ध र अमृताको गन्तव्य सोचे अनुरुप भएन ।
श्रीमान पट्टीबाट ३ भाई र ३ बहिनीमध्ये माईली बुहारीको रुपमा रहेकी अमृता थापा मगरले आर्थिक समस्याका कारण ४ वर्ष ओखलढुङ्गा र पाल्पामा श्रीमानसँगै ज्याला मजदुरी गरी घर खर्च चलाइन् । परिश्रमी एवम् दुरदर्शी स्वाभावकी अमृता श्रीमानसँग सल्लाह गरी अब आफ्नै गाँउमा केही गनुपर्छ भन्ने योजना बनाइ पाल्पाबाट २०७४ सालमा गाउँ फर्किइन् ।

गाउँमा केही गनुपर्छ भन्ने योजना बनाएकी अमृता त्यही बेला आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो गाउँमा समूह प्रवेश पूर्व तालिम संचालन गरेको भन्ने थाहा पाएर तालिममा सहभागी भइन् ।
तालिम पश्चात वित्तीय संस्थाको सेवा सुविधाको वारेमा राम्ररी बुझेर वित्तीय संंस्थाको सहयोगमा म पनि केही गर्न सक्छु भनी सुरुमा रु. ४०,००० ऋण लिइ गाउँकै स्कुलको करिब ८ विघा जग्गा वार्षिक १२ हजार रुपैयाँ तिर्ने सर्तमा भाडामा लिइन् । र खेती सुरु गरिन् । दोस्रो पटक रु. १ लाख ५० हजार लिएर जग्गा खनजोत गरी केरा खेती गरिन् ।
तेस्रो पटक रु. ३ लाख ऋण लिएर केरा खेतीको साथसाथै बंगुर पालनको खोर निर्माणमा लगानी गरिन् । चौथो पटकमा ४लाख र हाल पाँचौ पटक ५ लाख ऋण लिइ बंगुर पालन, केरा खेती, तरकारी खेती र माछा पालनमा लगानी गरेर राम्रो आयआर्जन गरी वित्तीय संस्थाको किस्ता समेत राम्रोसँग समयमा नै तिरी आफुलाई असल ऋणी सावित गराएकी छन् ।
यसैगरी अमृताले आफुले पढ्न नपाए पनि आफ्नो सन्ततिले पढेर ठुलो मान्छे बन्न सकोेस् भनी छोरालाई स्कुल भर्ना गरी पढाइ रहेकी छन् । खेती बारीबाट फुर्सद निकालेर स्कुलको साना नानीबाबुहरुलाई नास्ता पकाउने, खुवाउने जिम्मेवारी समेत स्कुलले अमृतालाई दिएको छ ।
यो सब अमृता देवी थापा मगरको मेहनत र परिश्रमको फल हो । त्यसैले लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जाको सही सदुयोग गर्ने हो र मेहनत गरी परिश्रम गर्ने हो भने नेपालमा नै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा अमृतालाई लिन सकिन्छ । कर्जाको सही सदुपयोग, मेहनत र परिश्रम गर्नाले अवश्य सफल हुने कुरामा कसैको दुई मत छैन ।
प्रस्तुतकर्ता खुशी राम चौधरी शाखा कार्यालय, बौनिया, कैलालीमा कार्यरत छन् ।