Skip to main content
११ कार्तिक २०८२, सोमबार
३६ लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय विवरणः कुनको अवस्था कस्तो ?

३६ लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय विवरणः कुनको अवस्था कस्तो ?

३६ लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय विवरणः कुनको अवस्था कस्तो ?

काठमाडौं । लघुवित्त संस्थाहरुको मुनाफामा सुधार आएको छ । हालसम्म ३६ लघुवित्त संस्थाले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । अधिकांश लघुवित्त संस्थाको मुनाफामा सुधार देखिएको छ । नेप्सेमा कुल ५० वटा लघुवित्त संस्था सूचीकृत छन्, जसमध्ये ७२ प्रतिशत वा ३६ संस्थाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने २८प्रतिशत अर्थात् १४ वटाको रिर्पोट प्रकाशित हुन बाँकी छ ।

रिर्पोटअनुसार अधिकांश संस्थाको मुनाफा उकासिएको देखिएपनि खराब कर्जा अनुपात (एनपीएल)भने त्यति सुधारोन्मुख देखिएको छैन । वित्तीय विवरण प्रकाशित गरेका संस्थामध्ये अझैपनि २२ वटा संस्थाको एनपीएल ५ प्रतिशतभन्दा माथि छ, जुन नेपाल राष्ट्र बैंकले तोकेभन्दा बढी हो ।

दुई लघुवित्त संस्था मात्रै घाटामा देखिएका छन् भने ३४ संस्था नाफामा उक्लिएका छन् । सोमध्ये पनि २५ संस्थाको नाफा गत आवको सोही अवधिसम्मको तुलनामा बढेको छ भने ९ वटाको मात्रै घटेको छ । तेस्रो त्रैमाससम्म घाटा व्यहोर्ने संस्थाहरुमा नेष्डो समृद्ध लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन् । नेष्डोले ११ करोड ६० लाख रुपैयाँ र सामुदायिक लघुवित्तले १ करोड १ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

लघुवित्त संस्थाहरुले सो अवधिसम्म २ अर्ब ४६करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २२.८७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म यी संस्थाहरुले समग्रमा २ अर्ब ६२ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।

लघुवित्त संस्थाहरुलाई कर्जा पुनर्संरचनाको सुविधाले नाफा वृद्धिमा टेवा पुगेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लागि एनआरएफएस बमोजिम वित्तीय विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने व्यवस्था गरिदिएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने संस्थामा डिप्रोक्स लघुवित्त रहेको छ । संस्थाले ४३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । साथै गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा भने स्वाभिमान लघुवित्त रहेको छ । संस्थाले गत आवको तुलनामा १८८४.२९ प्रतिशतले नाफा बढाएको छ ।